३ कर्तिक, काठमाडौँ । बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्म ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत पाँच लाख ७६ हजार ५७८ जनाले उपत्यका छाडेका छन् ।
उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार उपत्यका छाड्नेमध्ये दुई लाख २७ हजार ७५५ जना महिला र तीन लाख ४८ हजार ८२३ जना पुरुष छन् । नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ । यात्रुको सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको प्रमुख काफ्लेले बताए । “हाम्रो उद्देश्य सबैको यात्रा सफल र सुरक्षित होस् भन्ने हो”, उनले भने ।
यसैबीच, नेपाल प्रहरीले दसैँ, तिहार, छठ र नेपाल संवत्लगायत चाडपर्वलक्षित गरी देशभर ५० हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरेको छ । प्रहरी प्रवक्ता एवं डीआईजी अविनारायण काफ्लेका अनुसार सीमावर्ती क्षेत्रका १०८ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ भने प्रदेश, उपत्यका र सबै जिल्ला प्रहरी कार्यालयमा ‘कमान्ड सेन्टर’ राखिएको छ । प्रस्थानविन्दुमा चालकको अनुमतिपत्र, लापसे र मापसेको जाँचसँगै गाडीको यान्त्रिक परीक्षण गरेर मात्र लामो दूरीका सवारीसाधनलाई अनुमति दिइँदै छ । लामो दूरीका सवारीसाधनमा दुई चालक राख्नुपर्ने प्रावधान पनि कडाइका साथ लागु गरिएको छ ।



Comments