Breaking

बिहीबार देशभर बदली, पहिरो र बाढीको जोखिममा यी प्रदेश

८ कर्तिक, काठमाडौं । नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल हिमाली तथा पहाडी भू-भागको मौसम मुख्यतया सफा रहेको छ भने तराई, उपत्यका तथा खोँच क्षेत्रमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

विभागका अनुसार आज कार्तिक ८ गते दिउँसो हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्ने तथा कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ । राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा तराई, उपत्यका र खोँच क्षेत्रमा हुस्सु वा कुहिरो लाग्ने पूर्वानुमान गरिएको छ ।

त्यसैगरी कार्तिक ९ गते दिउँसो हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा पहाडी र तराई क्षेत्रको मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने तथा तराई र खोँच क्षेत्रमा हुस्सु वा कुहिरो लाग्ने सम्भावना रहेको छ ।

कार्तिक १० गते दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बादल लाग्ने तथा कोशी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ । राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने तथा हिमाली र पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।

कार्तिक ११ गते देशभर साधारणतया बादल लाग्ने तथा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ । विभागका अनुसार कार्तिक ११ गतेसम्मका लागि कुनै मौसमी चेतावनी जारी गरिएको छैन ।

तर कार्तिक १२ गते बिहीबार भने देशभर साधारणतया बादल लाग्ने तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान, लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ । त्यसै दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

भारी वर्षा वा हिमपातका कारण सम्बन्धित क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयको जोखिम बढ्न सक्ने भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने विभागले चेतावनी दिएको छ । विभागले सम्बन्धित क्षेत्रका नागरिक तथा सरोकारवालालाई आवश्यक सतर्कता अपनाउन र पछिल्लो सूचनामा अद्यावधिक रहन अनुरोध गरेको छ ।

अबका पाँच दिनका निम्ति यस्तो छ मौसम पूर्वानुमान पढ्नोस् –

नेपाल मौसम विज्ञान विभागले जारी गरेको कार्तिक ८ देखि १२ गतेसम्मको मौसम पूर्वानुमान बुलेटिन
स्रोत: नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा

Comments