- ९ कात्तिक, काठमाडौं । साना प्राकृतिक विपत्ति वा सडक अवरोध हुँदा पनि देशैभर एलपी ग्यासको हाहाकार मच्चिने समस्या समाधान गर्न नेपाल आयल निगमले भण्डारण गृह निर्माणको तयारी तीव्र पारेको छ । निगमले भारतको मोतिहारीदेखि सर्लाहीसम्म एलपी ग्यास पाइपलाइन बिछ्याउने र सर्लाहीमा एक महिनाको राष्ट्रिय माग धान्न सक्ने ५० हजार टन क्षमताको भण्डारण गृह बनाउने योजना बनाएको छ । यसका लागि इन्डियन आयल कर्पोरेसन (आईओसी) सँग विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने चरणमा काम भइरहेको छ ।
निगमका एलपीजी तथा एभिएसन विभाग प्रमुख विनीतमणि उपाध्यायका अनुसार सर्लाहीमा बन्ने डिपो पूर्ण रूपमा स्वचालित हुनेछ । त्यहाँ ५० हजार टनको भण्डारण गृहसँगै दैनिक २५ हजार सिलिन्डर भर्न सक्ने बोटलिङ प्लान्ट र दिनमा कम्तीमा १०० बुलेट लोड गर्न मिल्ने ट्यांकर लरी फिलिङ सेट बनाइनेछ । प्रस्तावित पाइपलाइन करिब १३१ किलोमिटर लामो हुनेछ र हालको मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको रुट पछ्याउँदै बारा पथलैयाबाट सर्लाहीसम्म पुग्नेछ । सर्लाहीमा निगमको आफ्नै १४ बिघाभन्दा बढी जग्गा छ ।
प्रारम्भिक अध्ययनअनुसार सम्पूर्ण पूर्वाधार निर्माणमा करिब २५ देखि ३० अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । तर लगानी कसले गर्ने भन्ने टुंगो लागेको छैन । डीपीआर तयार भएपछि दुवै देशका सरकारले अनुदान वा अन्य कुन मोडालिटीमा बनाउने भन्ने निर्णय गर्नेछन् । हाल नेपालले भारतका रिफाइनरीबाट बुलेटमार्फत ग्यास ल्याइरहेको छ, जसमा काठमाडौंबाट ५०० देखि १,३०० किलोमिटरसम्मको दूरी तय गर्नुपर्छ । निगमका अनुसार पाइपलाइन बनेपछि लामो दूरीको ढुवानी भाडा जोगिने, भारतीय बुलेटमाथिको परनिर्भरता घट्ने र नेपाली व्यवसायीले ढुवानीमा रोजगारी पाउने छन् ।



Comments