Breaking

१५ दिन लामो बडादसैँ आज सकिँदै, कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा गरी जाग्राम बस्ने परम्परा

८ कर्तिक चितवन । १५ दिन लामो बडादसैँ पर्व आज कोजाग्रत पूर्णिमासँगै समापन हुँदै छ । आश्विन शुक्ल पूर्णिमाको साँझ महालक्ष्मीको पूजा गरी रातभर जाग्राम बस्ने धार्मिक परम्परा छ । 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष पुरुषोत्तम भट्टराईका अनुसार जाग्राम बसेको घरमा महालक्ष्मी प्रवेश गरी धन र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास छ । यस दिन महालक्ष्मीसँगै हात्तीमा सवार इन्द्रको पनि पूजा गरिन्छ । 

कोजाग्रत पूर्णिमासँगै विजयादशमीदेखि मान्यजनबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने क्रम समाप्त हुन्छ । यस दिन जमरालाई नदी, तलाउ वा पोखरीजस्ता पवित्र स्थानमा विसर्जन गरिन्छ । नवरात्र विजयादशमीमा सकिए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमासम्म रहने धार्मिक मान्यता छ । यस पूर्णिमालाई कौमुदी पूर्णिमा पनि भनिन्छ । 

यसैबीच, कात्तिक स्नान, तुलसीको विशेष पूजा तथा आकाशदीपदान कात्तिक ९ गते सोमबारदेखि सुरु हुने समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ ।

Comments