१७ असोज, काठमाडौं । नेपालका थारू, मैथिली तथा भोजपुरी समुदायका महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य र उज्ज्वल भविष्यको कामना गर्दै मनाउने पवित्र एवं कठोर जितिया पर्व आज धार्मिक विधिपूर्वक मनाइँदै छ । आश्विन कृष्ण पक्षको सप्तमीदेखि नवमी तिथिसम्म तीन दिनसम्म निरन्तर मनाइने यो पर्वलाई आमाहरूको निष्ठा र अगाध स्नेहको प्रतीकका रूपमा लिइन्छ ।
तीन दिनको मुख्य धार्मिक विधि
|
|
पहिलो दिन
नहा खा (नहाय-खाय)
पर्वको पहिलो दिन व्रतालु आमाहरूले बिहानै नदी, पोखरी वा जलाशयमा स्नान गरी घर-आँगन चोख्याउने गर्छन् । यस दिन मरुआ (कोदो) को रोटी, नोनीको साग र भिँगनी जस्ता सात्त्विक परिकार चोखो गरी पकाएर खाइन्छ । मध्यराति वा सूर्योदयअघि ‘ओठगन’ (सरगी) खाँदै मीठो परिकार वा दही-चिउरा ग्रहण गरेर मूल व्रतको सङ्कल्प लिने परम्परा छ । |
|
|
दोस्रो दिन • सबैभन्दा कठोर दिन
मूल उपवास (जितिया दिन)
यो पर्वको सबैभन्दा मुख्य र कठोर दिन हो । यस दिन आमाहरूले २४ घण्टाभन्दा बढी समय पानीसमेत नपिई ‘निर्जला’ व्रत बस्छन् । साँझपख पिठो, माटो वा कुशबाट भगवान् जितवाहन र चील-सिया रिनको प्रतिमा बनाई विधिपूर्वक पूजा-आराधना गरिन्छ र जितवाहनको पौराणिक कथा सुन्ने-सुनाउने गरिन्छ । |
|
|
तेस्रो दिन
पारण
नवमी तिथिको बिहान सूर्योदयपछि पुनः पूजा-आराधना गरी व्रतालुहरूले सूर्यदेवलाई अर्घ्य दिन्छन् । त्यसपछि चोखो परिकार तथा प्रसाद ग्रहण गर्दै निष्ठापूर्वक व्रतको पारण (विसर्जन) गरिन्छ । |
भगवान् जितवाहनको पौराणिक कथा
धार्मिक मान्यता अनुसार, पौराणिक कालमा जितवाहन गन्धर्वका राजा थिए । उनी अत्यन्तै दयालु, त्यागी र परोपकारी स्वभावका थिए । राज्य त्याग गरी वनवास बसेका बेला उनले एक नागमाता आफ्नो एक मात्र छोरा ‘शंखचूड’लाई पक्षीराज गरुडको भोजन बन्न पठाउनुपरेका कारण साह्रै रोइरहेकी देख्छन ।
नागमाताको दुःख देखेर जितवाहनले ती नागको रक्षा गर्न आफ्नै ज्यान जोखिममा राख्ने निर्णय गर्छन् । उनी शंखचूडको सट्टा आफैं रातो कपडा ओढेर गरुडको भोजन बन्न जान्छन् । जितवाहनको यो अद्भुत त्याग, साहस र परोपकार देखेर गरुड प्रभावित हुन्छन् र उनलाई जीवनदान दिँदै भविष्यमा नागहरूको शिकार नगर्ने वचन दिन्छन ।
यसरी जितवाहनको महान् त्यागले सन्तानको रक्षा भएको स्मरणमा आमाहरूले आफ्ना सन्तानको कल्याणका लागि जितवाहनलाई देवताका रूपमा पूजा गर्दै जितिया पर्व मनाउने परम्परा चलेको हो । विशेष गरी तराई-मधेस र भित्री मधेस क्षेत्रमा जितिया पर्वको अवसरमा धार्मिक अनुष्ठान, कथा वाचन र सांस्कृतिक झाँकीसहितका कार्यक्रमहरू आयोजना गरिएका छन ।



Comments