Breaking

आज विजयादशमी, देशभर टीका र जमरा लगाइँदै, उत्तम साइत बिहान १०ः२६ बजे

४ कर्तिक, काठमाडौं । बडादसैँ अर्थात् विजयादशमीको मुख्य दिन आज देशभर मान्यजनको हातबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ । 

आश्विन शुक्ल दशमीका दिन मनाइने विजयादशमीमा परिवारका ज्येष्ठ सदस्य तथा मान्यजनबाट रातो टीका र जमरा लगाएर सुख, शान्ति, समृद्धि र दीर्घायुको आशीर्वाद लिने परम्परा छ । 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका लगाउन इच्छुकका लागि आज बिहान १०ः२६ बजेको साइत उत्तम रहेको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले सर्वसाधारणले टीका लगाउन अनिवार्य रूपमा साइत कुर्नु नपर्ने समितिले जनाएको छ । 

आजदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने चलन छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी नेपालीको प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व हो ।

Comments