Breaking

एनपिएल उपाधि जित्ने टोलीले पाउने भयो रु १ करोड ५० लाख, पुरस्कार राशि ४० लाखले बढ्यो

क्यानको पत्रकार सम्मेलन काठमाडौँ, ८ कात्तिक : नेपाल क्रिकेट सङ्घ (क्यान) ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना गर्ने 'नेपाल प्रिमियर लिग' (एनपिएल) सम्बन्धी जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा पदाधिकारीहरू । तस्बिर : किरणराज विष्ट/रासस

८ कर्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि जित्ने टोलीले रु एक करोड ५० लाख प्राप्त गर्ने भएको छ । अघिल्लो संस्करणको तुलनामा यसपटक विजेता टोलीको पुरस्कार राशि रु ४० लाखले बढाइएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । 

प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले रु ८० लाख, तेस्रो हुने टोलीले रु ४० लाख र चौथो स्थानमा रहने टोलीले रु ३० लाख पाउने क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले जानकारी दिनुभयो । 

गत संस्करणमा लुम्बिनी लायन्सले उपाधिसँगै रु एक करोड १० लाख पुरस्कार पाएको थियो । यसपटक विजेताको पुरस्कार राशि बढाइएसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । 

एनपिएलको तेस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ । यसपटक पनि प्रतियोगितामा आठ वटा टोलीको सहभागिता रहनेछ ।

Comments