३ कर्तिक, काठमाडौँ । जिल्ला निर्वाचन कार्यालय चितवनले तीन हजार ३६२ मतदाताको नाम मतदाता सूचीबाट हटाएको छ । मतदाता नामावली अध्यावधिक कार्यक्रमअन्तर्गत दोहोरो दर्ता भएका, मृत्यु भएका र नागरिकता परित्याग गरेका मतदाताको नामावली हटाइएको हो ।
हटाइएकामध्ये दोहोरो दर्ता भएका एक हजार ९४३ जना छन् । आयोगको प्रणालीबाट जाँच गर्दा दोहोरो कायम भएको भेटिएपछि उनीहरूको नाम हटाइएको हो । कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार भदौ १२ गतेसम्म मृत्यु दर्ता गरेका एक हजार ३८० जना र नागरिकता परित्याग गरेका ३९ जनाको समेत नाम मतदाता नामावलीबाट हटाइएको हो ।
मृत्यु भएकाहरूको सम्बन्धित वडा कार्यालय र मृतकका परिवारले कार्यालयमा दर्ता गरेको मृत्यु प्रमाणपत्रका आधारमा नाम हटाइएको हो । नागरिकता परित्याग गर्नेहरूको जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा नाम हटाइएको उनले बताए ।
गत फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा चार लाख ४२ हजार ८२ मतदाता रहेका थिए । फागुन २१ गतेको मतदानपछि भने १३ हजार १३४ जना मतदाता थपिएका छन् ।



Comments