Breaking

माडीमा जारी सहारा सेभेन ‘ए’ साइड फुटबलको दोस्रो दिन पाँच खेल सम्पन्न, बिहीबारदेखि क्वाटरफाइनल

२८ असोज, चितवन । माडी ५ ब्रह्मपुरीस्थित शक्तिराम खेल मैदानमा जारी चौथो सहारा सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता – २०८३ अन्तर्गत दोस्रो दिन बुधबार पाँच खेल सम्पन्न भएका छन् । 

प्रतिस्पर्धात्मक खेलहरूमा बसन्तपुर, किर्तनपुर ब्वाइज, आयोजक सहारा ‘ए’, समाज सुधार युथ क्लब र ज्ञानज्योति युथ क्लब विजयी भएका छन् । पहिलो खेलमा बुद्धज्योति युथ क्लब अनुपस्थित भएपछि बसन्तपुरले वाकओभरमार्फत जित हासिल गर्‍यो । दोस्रो खेलमा किर्तनपुर ब्वाइजले सहारा ‘बी’ लाई १–० गोल अन्तरले पराजित गर्‍यो । उक्त खेलमा एबिन बस्याल ‘म्यान अफ द म्याच’ घोषित भए । 

तेस्रो खेलमा आयोजक सहारा ‘ए’ ले कल्याणपुर युथ क्लबलाई ६–० गोलको फराकिलो अन्तरले हरायो । एकतर्फी बनेको उक्त खेलमा अबिराग घटाने ‘म्यान अफ द म्याच’ चुनिए । चौथो खेलमा निर्धारित समयमा गोलरहित बराबरी भएपछि भएको पेनाल्टी सुटआउटमा समाज सुधार युथ क्लबले जनकल्याण तमु समाज ‘ए’ लाई २–१ ले पराजित गर्‍यो । उक्त खेलमा आरसी RC परियार ‘म्यान अफ द म्याच’ घोषित भए । 

दिनको अन्तिम खेलमा ज्ञानज्योति युथ क्लबले जनकल्याण तमु समाज ‘बी’ लाई पेनाल्टी सुटआउटमा ३–२ ले हरायो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टीबाट गरिएको थियो । उक्त खेलमा अमृत चुवाई ‘म्यान अफ द म्याच’ बने । प्रतियोगिताअन्तर्गत बिहीबार असोज २९ गतेदेखि क्वाटरफाइनल चरणका खेल सुरु हुने आयोजक सहारा युथ क्लबले जनाएको छ ।

Comments