२७ असोज, चितवन । चितवनको माडी-५, ब्रह्मपुरीस्थित सहारा युथ क्लबको आयोजनामा ‘चौथो सहारा सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता २०८३’ मङ्गलबारदेखि शक्तिराम खेल मैदानमा भव्य रूपमा सुरु भएको छ । असोज २७ गतेदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन उद्घाटन चरणअन्तर्गत रोमाञ्चक चार वटा खेलहरू सम्पन्न भएका छन ।
प्रतियोगिताको उद्घाटन खेलमा ध्रुवतारा युथ क्लब रामराज्यपुरले दियो क्लब माडीलाई १-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका ध्रुवताराका कुशल सेन्चुरी ‘म्यान अफ द म्याच’ घोषित भए ।
त्यसैगरी दोस्रो खेलमा रेवा युथ क्लब र जनकल्याण तमु समाज ‘बी’ बीच कडा प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा खेल गोलरहित बराबरीमा टुङ्गिएपछि पेनाल्टी शुटआउटमा धकेलिएको खेलमा जनकल्याण तमु समाज ‘बी’ ३-२ गोल अन्तरले विजयी भयो । यस खेलमा जनकल्याणका सुमन क्षेत्री ‘म्यान अफ द म्याच’ बने ।
आजै सम्पन्न तेस्रो खेलमा किर्तनपुर ब्वाइजले डाइनामिक युथ क्लबलाई २-० गोल अन्तरले हराउँदै अघिल्लो चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ । सो खेलमा किर्तनपुरका आशिष गुरुङ ‘म्यान अफ द म्याच’ चुनिए ।
यस्तै पहिलो दिनको अन्तिम तथा चौथो खेलमा याङ स्टार पौवारी ‘ए’ ले खरकट्टा एफसीलाई १-० गोल अन्तरले पाखा लगाउँदै जित दर्ता गरेको छ । उक्त खेलमा याङ स्टारका विजय बोट ‘म्यान अफ द म्याच’ घोषित भए ।
माडी नगरपालिका र माडी नगरपालिका-५ को कार्यालय प्रवर्द्धक रहेको यस प्रतियोगिताको विजेताले रु. ५२,०००/- र उपविजेताले रु. २६,०००/- सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । असोज ३१ गतेसम्म कूल ५ दिन सञ्चालन हुने प्रतियोगिताअन्तर्गत भोलि बुधबार असोज २८ गते विभिन्न ५ वटा खेलहरू सञ्चालन हुने आयोजक सहारा युथ क्लबले जनाएको छ ।



Comments