२५ असोज, चितवन । भैरवी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, माडी २, सितलपुरको १९औँ वार्षिक साधारण सभा तथा विशेष अधिवेशन सम्पन्न भएको छ । माडी ३, बसन्तपुरस्थित माडी क्याम्पसको सभाहलमा आयोजित सभाबाट खेमलाल पोख्रेल अध्यक्षमा पुनः निर्वाचित हुनुभएको छ ।
‘गौरवको आयोजना, खोरेतमुक्त सेतो माडी अभियान’ भन्ने नाराका साथ आयोजित सभाले नगरपालिकाको अनुरोध तथा सहकारी नियमानुसार विधान संशोधन गरी २१ सदस्यीय कार्यसमितिलाई घटाएर ९ सदस्यीय बनाएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा अप्सरा पाण्डे, सचिवमा खेमप्रसाद पाठक, कोषाध्यक्षमा जगतप्रसाद पोख्रेल र सदस्यहरूमा जीवन गुरौ, निर्मला पोख्रेल, कुलबहादुर विक, गंगाबहादुर अधिकारी तथा कमला वस्ताकोटी चयन हुनुभएको छ । यस्तै, लेखा समितिमा केशवराज अधिकारी, ओमबहादुर भण्डारी र हिरा सापकोटा चयन हुनुभएको छ ।
गएको आर्थिक वर्ष २०८२/०८३ मा कुल ४ करोड २७ लाख ७४ हजार १२२ रुपैयाँ बराबरको कारोबार गरेको सहकारीले सोही अवधि अनुसारको अडिट रिपोर्टका साथै मानव संसाधन, आर्थिक तथा प्रशासनिक, सम्पत्ति शुद्धीकरण र बचत तथा लगानी परिचालन सम्बन्धी चारवटा कार्यविधि सर्वसम्मत पारित गरेको छ ।
संस्थाका संस्थापक अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि महादेव भुर्तेल, बागमती प्रदेश सभा सदस्य ठाकुरप्रसाद ढकाल लगायतका अतिथिहरूले मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा सबैभन्दा बढी दूध सङ्कलन गर्ने डिल्लीराम पराजुली, जीवन गुरौ, विनोद पौडेल र विमला आचार्यसहित उत्कृष्ट कृषकहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।


Comments