१० कर्तिक, काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुआत गरेको छ । मंगलबार (कात्तिक १०) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा चितवनले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्स १९.३ ओभरमा सबै विकेट गुमाउँदै १४९ रनमै समेटियो । विराटनगरलाई चितवनले आठ रनले हराएको हो ।
विराटनगरलाई सस्तैमा रोक्न कमलसिंह ऐरीले चार विकेट लिए । कमलले चार ओभर बलिङ गर्दा २६ रन खर्चिए । रिजन ढकालले दुई, रञ्जीत कुमार, मौसम ढकाल, टम टेयलर र ड्यान मुस्लेले समान एक विकेट लिए । विराटनगरका निम्ति ओपनर इम्रान शेखले ३९ रन बनाए । आन्द्रे रसेलले ३३ रनको योगदान गरे । अर्का ओपनर लोकेश बमले २६, एञ्जेलो म्याथ्युजले १४ र बसिर अहमदले १३ रन जोडे ।
त्यसअघि, चितवनले विराटनगरविरुद्ध निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियो । चितवनका निम्ति ओपनर डेविड मलानले ७० रनको अर्धशतकीय इनिङ खेले । उनले ५० बलमा पाँच चौका र पाँच छक्का प्रहार गरे । उनले अर्का ओपनर देव खनालसँग ५८ रनको अर्धशतकीय साझेदारी गरे । रवि बोपारा ३२ रनमा अविजित रहे भने ड्यान मुस्लेले २९ र देव खनालले १२ रन जोडे । विराटनगरका एञ्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ अशलंकाले समान एक विकेट लिए ।
खेलमा विराटनगरका कप्तान सन्दीपले १७.३ ओभरमा डीआरएसको अपिल गरेका थिए । उक्त बलमा अम्पायरले नटआउटको संकेत गरेपछि उनले अपिल गरेका हुन् । तर, उनको अपिल सफल भएन । टीभी अम्पायरले पनि नटआउटको संकेत गर्दा चितवनका ड्यान मुस्लेको विकेट जोगिएको थियो । त्यसपछि चितवनले पनि डीआरएसको अपिल गरेको थियो । दोस्रो इनिङको ३.१ ओभरमा गरिएको उक्त अपिल पनि सफल भएन । यसबाट विराटनगरका लोकेश आउट हुनबाट जोगिए ।
जितसँगै चितवनले दुई अंक जोडेको छ । चितवनले अब दोस्रो खेल यही अक्टोबर ३१ मा लुम्बिनी लायन्सविरुद्ध खेल्नेछ । हारबाट प्रतियोगिताको सुरुआत गरेको विराटनगरले सोही दिन दुई सिजनको उपविजेता सुदूरपश्चिम रोयल्ससँग खेल्ने तालिका छ ।



Comments