९ कर्तिक, काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुखद सुरुआत गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले हरायो । यो एनपीएलको इतिहासमा लिग चरणमा सुदूरपश्चिमविरुद्ध लुम्बिनीको पहिलो जित हो । यसअघिका दुई संस्करणमा लुम्बिनीले लिग चरणमा सुदूरपश्चिमलाई हराउन सकेको थिएन । लुम्बिनीले सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य ९.४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमा अलआउट भयो । टोलीका मुख्य आशा गरिएका खेलाडीले सन्तोषजनक प्रदर्शन गर्न सकेनन् । दीपेन्द्रसिंह ऐरीले सबैभन्दा बढी २७ रन जोडे । अनिल खरेलले १५, सैफ जैबले १३, विनोद भण्डारीले नौ, इशान पाण्डेले सात, अभिनाश बोहराले तीन, ब्रान्डन म्याकमुलेनले दुई र शेरफन रदरफोर्डले एक रन बनाए । आरिफ शेख, हेमन्त धामी र स्कट कुगेलेइन शून्यमा आउट भए ।
लुम्बिनीका किशोर महतो र शेर मल्लको जोडी चम्कियो । किशोरले चार ओभरमा २२ रन खर्चेर चार विकेट लिए भने शेरले चार ओभरमा ११ रन दिएर तीन विकेट लिए । तिलक भण्डारी, कप्तान रोहित पौडेल र शाड्ली भान शाल्विकले एक–एक विकेट लिए । लुम्बिनीले दोस्रो संस्करणको फाइनलमा देखाएको प्रदर्शनको झल्को दिएको छ । गत सिजन लुम्बिनीले सुदूरपश्चिमलाई ८५ रनमा रोक्दै उपाधि जितेको थियो । खेलमा यही संस्करणदेखि पहिलोपटक प्रयोग भएको डीआरएस प्रणाली प्रयोग भयो, जसमा जम्मा पाँचवटा अपिल भए । जितसँगै लुम्बिनीले प्रतियोगितामा दुई अंक जोडेको छ । लुम्बिनीले दोस्रो खेल अक्टोबर ३१ मा चितवन राइनोजविरुद्ध खेल्नेछ । सुदूरपश्चिमले भने अक्टोबर २८ मा पोखरा एभेन्जसविरुद्ध खेल्नेछ ।



Comments