Breaking

सोमेश्वर सामुदायिक वनको निर्वाचनमा रास्वपाका ईश्वर महतो विजयी

२२ असोज, चितवन । सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनअन्तर्गत माडी ४ (साविक वडा नं. ७) मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उम्मेदवार बन्नुभएका ईश्वर महतो विजयी हुनुभएको छ । 

महतोले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपासहितको संयुक्त गठबन्धनका उम्मेदवार तथा वनका निवर्तमान अध्यक्ष नेत्रनाथ आलेलाई पराजित गर्दै विजय हासिल गर्नुभएको हो । आलेलाई विभिन्न राजनीतिक दलको संयुक्त समर्थन रहेको थियो । 

सामाजिक तथा स्वतन्त्र व्यक्तित्वहरूको सहयोगमा निर्वाचनमा सहभागी हुनुभएका महतोको विजयलाई स्थानीयस्तरमा चासोका साथ हेरिएको छ । स्थानीय उपभोक्ताहरूले निर्वाचन परिणामले सामुदायिक वनको व्यवस्थापन, संरक्षण र उपभोक्ताको हितमा नयाँ नेतृत्वको भूमिका प्रभावकारी बन्ने अपेक्षा गरेका छन् । 

यसैबीच, निर्वाचनमा पराजित उम्मेदवार एवं वनका पूर्वअध्यक्ष नेत्रनाथ आलेले आफूलाई मतदान गर्ने मतदाताप्रति आभार व्यक्त गर्नुभएको छ । आलेले विजयी उम्मेदवार महतोलाई सफल कार्यकालको शुभकामना दिँदै वन तथा उपभोक्ताको हितमा प्रभावकारी काम हुने अपेक्षा व्यक्त गर्नुभएको छ ।

Comments