Breaking

सोमेश्वर मध्यवर्ती सामुदायिक वनको निर्वाचनमा माडी ५ बाट सन्तोष चापागाई विजयी

२३ असोज, चितवन । सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनमा माडी ५ (साविक वडा नं. ९) बाट सन्तोष चापागाई विजयी हुनुभएको छ । उहाँले आफ्ना प्रतिद्वन्द्वी अर्जुन काफ्लेलाई ८८ मतको अन्तरले पराजित गर्नुभएको हो । महिलातर्फ लक्ष्मी सुनार निर्विरोध निर्वाचित हुनुभएको छ । 

निर्वाचनमा जम्मा २५१ मत खसेको थियो । चापागाईले १६७ मत ल्याउँदा काफ्लेले ७९ मत प्राप्त गरे । ५ मत बदर भएको छ । चापागाईलाई नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाको संयुक्त समर्थन थियो भने काफ्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समर्थन रहेको थियो । 

सामाजिक तथा स्वतन्त्र व्यक्तित्वहरूको सहयोगमा निर्वाचनमा सहभागी भएका चापागाईको विजयलाई स्थानीयस्तरमा चासोका साथ हेरिएको छ । स्थानीय उपभोक्ताहरूले निर्वाचन परिणामपछि सामुदायिक वनको व्यवस्थापन, संरक्षण र उपभोक्ताको हितमा नयाँ नेतृत्वले प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरेका छन् ।

Comments