Breaking

ठोरी–माडी हुलाकी राजमार्गको पतरे खोलामा पुल निर्माणका लागि नयाँ बोलपत्र आह्वान

२१ असोज, चितवन । ठोरी–माडी हुलाकी राजमार्गअन्तर्गत माडी ७ देवेन्द्रपुर स्थित पतरे खोलामा वर्षौँदेखि सुचारुहुन नसकेको पुल निर्माणले फेरि गति लिने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय, सडक विभागअन्तर्गतको हुलाकी राजमार्ग निर्देशनालय, आयोजना कार्यालय वीरगञ्ज, पर्साले बाँकी रहेको प्रिप्रेस्ड आरसीसी पुल (Prestressed RCC Bridge) निर्माणका लागि बोलपत्र आह्वान गरेको हो । 

कार्यालयले प्रकाशित गरेको सार्वजनिक सूचनाअनुसार इच्छुक तथा योग्य निर्माण व्यवसायीहरू राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र प्रक्रिया (NCB) मार्फत सहभागी हुन सक्नेछन् । लामो समयअघि ठेक्का भई निर्माण सुरु भए पनि विभिन्न प्राविधिक कारणले काम रोकिएको थियो र पछि ठेक्का नै खारेज भएको थियो। त्यसैले विभागले लामो समय पछि नयाँ प्रक्रिया सुरु गरेको हो । 

ठोरी–माडी हुलाकी राजमार्गका अन्य सबै पुल निर्माण भई सञ्चालनमा आइसकेका छन् । तर पतरे खोलाको पुल मात्र अलपत्र परेकाले स्थानीय बासिन्दा तथा यात्रुले विशेषगरी बर्खायाममा ठूलो सास्ती खेप्दै आएका थिए ।

Comments