Breaking

देउवा पक्षबाट माडी नगर सभापतिमा तिलक भुषाल चयन, महाधिवेशन तयारी तीव्र

२३ असोज, चितवन । नेपाली कांग्रेसको देउवा पक्षले माडी नगरपालिका सभापतिमा सामाजिक व्यक्तित्व तिलक भुषाललाई चयन गरेको छ । पार्टीको नियमित १५औँ महाधिवेशनको प्रक्रियाअन्तर्गत भुषाललाई नगर सभापतिको जिम्मेवारी दिइएको हो । 

यसैबीच, कांग्रेसको इतर पक्षले पनि चितवनमा महाधिवेशन प्रक्रिया अघि बढाएको छ । बिहीबार सम्पन्न भरतपुर महानगरपालिकाको अधिवेशनले प्रमिश राईको सभापतित्वमा नयाँ महानगर समिति चयन गरेको छ । राई यसअघि अधिवेशन गराउन संयोजक तोकिएका थिए । समितिको उपसभापतिमा रेशल श्रेष्ठ तथा सचिवमा सफल अधिकारी र राजन बख्रेल चयन भएका छन् । अन्य पदाधिकारी तथा सदस्य पछि चयन गरी समितिलाई पूर्णता दिइने जनाइएको छ । 

अधिवेशनको उद्घाटन गर्दै जिल्ला संयोजक मिलनबाबु श्रेष्ठले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको र निर्णय आफूहरूकै पक्षमा आउने विश्वास व्यक्त गरे । श्रेष्ठका अनुसार चितवनमा ८५ प्रतिशतभन्दा बढी वडा अधिवेशन सम्पन्न भइसकेका छन् । केही दिनभित्रै क्षेत्रीय अधिवेशनसमेत गरिने उनले बताए । कार्यक्रममा बागमती प्रदेशकी पूर्वमन्त्री एवं सांसद बिनु रायमाझी पौडेल, प्रदेश सांसद माया श्रेष्ठ र संविधानसभा सदस्य विष्णुमाया परियारलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Comments