Breaking

नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित, खड्गीभन्दा ६ हजार २०९ मत बढी

२४ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा निर्वाचित भएका छन् । सभापति पदको निर्वाचनमा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाएका छन् । 

निर्वाचनको परिणामअनुसार थापाले खड्गीभन्दा ६ हजार २०९ मत बढी प्राप्त गरेका छन् । कुल ७ हजार १३ मत खसेकोमा ५४ मत बदर भएको छ । खसेको कुल मतमध्ये थापाले ९३.८८ प्रतिशत र खड्गीले ५.३५ प्रतिशत मत प्राप्त गरेका छन् । बदर मतको हिस्सा ०.७७ प्रतिशत रहेको छ । 

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि शुक्रबार काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा मतदान भएको थियो । बिहान साढे ८ बजे सुरु भएको मतदान राति १० बजे सम्पन्न भएपछि मतगणना सुरु गरिएको थियो । 

निर्वाचन समितिका अनुसार कुल ७ हजार ३१७ महाधिवेशन प्रतिनिधि मतदाता रहेकामा ७ हजार ३९ जनाले मतदान गरेका थिए । यो कुल मतदाताको करिब ९६.२० प्रतिशत हो। बाँकी २७८ जना मतदानमा सहभागी भएनन् । 

सभापति पदको मतगणना सम्पन्न भएसँगै अब अन्य पदाधिकारीको मतगणना सुरु हुने भएको छ । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार उम्मेदवारहरूसँग बैठक गरेपछि पदाधिकारीको मतगणना आज दिउँसोबाट सुरु गरिनेछ ।

Comments